१८ चैत, पर्सा । पर्सा प्रहरीले चिठ्ठाको नाममा ठगि गर्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २५ लाख रुपैयाको चिठ्ठा परयो भनेर नेपाली नागरिकलाई ठगि गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत विहार गोपालजंग जिल्लाको फुलवरीया थाना, ग्राम पंचायत बथुवा बजार बस्ने ३८ बर्षीय लडन मिया र गोपालगंज जिल्लाको गोपालपुर थाना, ग्राम पंचायत रामपुर खरैयाग्राम निवासी २६ बर्षिय गुडु भनिने गुडन पंण्डित रहेका छन । विशेष सुचनाको आधारमा जिल्लाको अपराध नियन्त्रण टोलीले वीरगन्ज १० पानीटंकी अवस्थित रहेको आईएमईबाट रकम निकाल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक दिवेश लोहनीले बताउनु भयो । नेपाली नागरिकलाई २५ लाख ३० हजारको चिठ्ठा परेको भनेर आईएमईमा रकम राख्न लगाई सोहि रकम झिक्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक लोहनीले बताउनु भयो । उनीहरुको साथबाट प्रहरीले ३ लाख ४८ हजार ३ सय ३५ नेपाली रुपैया, ६ हजार ३ सय ८० भारतीय रुपैया, विभिन्न व्यक्ति र उनीहरुकै फोटो टांसिएको नेपाली नागरिकता १० थान र खाली सहि छाप भएको नेपाली नागरिकता २ थान र ३ थान मोबाईल फेला परेको प्रहरी उपरिक्षक लोहनीले बताउनु भयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धानको प्रकृया अगाडी बढाईएको प्रहरी उपरिक्षक लोहनीले बताउनु भयो । यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली चिठ्ठा र एटिएम प्रयोग गरी रकम ठगि गरेको आरोपमा १५ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको पक्रया अगाडी बढाएको छ ।











