१८ चैत, काठमाडौं । बुधबार राती करिब ११ बजेको समयमा १० दिनदेखि अनशनमा बसिरहेका डा.गोविन्द केसीले एकाएक प्रधानमन्त्री सुशील कोइरालालाई सरकार ढाल्ने चेतावनी दिएका छन् । दिनभरको भेटघाटले थकित भएका तर रेखदेख गर्न केसीको साथमा केही चिकित्सक विद्यार्थी मात्र थिए।
यत्तिकैमा केसी समर्थक चिकित्सक एक्कासी कोठामा प्रवेश गरे र भने, ‘वार्ता टुंगियो। भोली बिहान फाइनल गर्ने भनेका छन् । तर कुरा खासै मिलेको छैन। हाम्रो मुख्य माग उनीहरु लचिलो देखिएनन् ।’ यसो भन्नसाथ केसी एकाएक आक्रोशमा आए। तत्काल मोबाइलबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेललाई फोन गरे । नम्र भएर सम्वाद सुरु गरेका केसी फोनमा यसरी पड्किए, त्यहाँ बस्नेहरु पनि आत्तिए।
डा। केसीले राजनीतिक दलहरुको दाउ आफ्ना मान्छे नियुक्त गरेर चलखेल गर्ने भएकोले त्यसबारेमा स्पष्ट हुन पोखरेललाई आग्रह गरे । केसीले आफ्ना जायज मागलाई सम्बोधन गर्नेतर्फ उदासिनता एवं लाचारी देखाएको आरोप लगाउँदै प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम र एमाले अध्यक्ष केपी ओलीको नामै किटेर आक्रोश पोखे। उनले भने ‘को त्यो सुशील, त्यसले मलाई थाङनामा सुताउने, उसलाई भनिदिनुस् । यदि सुशील र वामदेले टक्कर लिने हो भने म सरकार ढाल्न सक्छु ओलीलाई त्यही भनिदिनुस् ।’
सरकारका प्रतिनिधि र आन्दोलनरत चिकित्सक पक्षबीच मंगलबार बिहान राति अबेरसम्म विभिन्न चरणमा पटकपटक वार्ता भएको थियो। राति पौने एघार बजे वार्ता टुंगिएपछि सरकारी पक्षका प्रतिनिधि मुख्यसचिव लिलामणी पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल सहमति नजिक पुगेको भन्दै अस्पतालबाट बाहिरिएका थिए ।
मनोमानी रुपमा मेडिकल कलेजलाई सम्बन्धन दिने र सम्बन्धनका नाममा चलखेल गर्ने त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्विद्यालयका पदाधिकारी, आईओएमका पूर्वपदाधिकारी,शिक्षा मन्त्री, स्वास्थ्यमन्त्री , मेडिकलका पदाधिकारीलाई कारवाही गर्ने विषयलाई केसीले मुख्य मागको रुपमा अघि सारेका छन् । तर वार्ता सरकारी पक्षले भने यो मागलाई पुरा गर्न व्यवहारिक र कानुनी रुपमा कठिनाइ रहेको तर्क राखेका छन् ।











