१७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले आन्दोलनमा सक्रिय हुन आफ्ना नेताहरुलाई निर्देशन दिएको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सदस्य तथा सभासद्हरुको संयुक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै जिल्ला जिल्लामा गएर आन्दोलनमा सक्रिय हुन सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सरकार विरुद्ध आन्दोलनको विकल्प नभएको भन्दै बैठकमा प्रचण्डले यसअघि बनाइएका तीनवटा कमाण्ड अनुसार नै नेता कार्यकर्तालाई सक्रियरुपमा कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।
एमाओवादीले आन्दोलनलाई सशक्त बनाउन भन्दै मध्य कमाण्ड, पश्चिम कमाण्ड र पूर्वी कमाण्ड बनाएर कार्यविभाजन गरेको छ । मध्य कमाण्डको नेतृत्व प्रचण्डले, पश्चिम कमाण्डको नेतृत्व डा. बाबुराम भट्टराईले र पूर्वी कमाण्डको नेतृत्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेका छन् ।
बैठकपछि वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्तारुढ दलहरुले एकपक्षीय रुपमा संविधानसभाको बैठक बोलाउन लगाएर वार्ताको ढोका बन्द गरेकाले तत्काल आन्दोलन चर्काउनुको विकल्प नभएको बारेमा छलफल भएको जानकारी दिए ।
बैठकमा पेलिट्ब्युरो सदस्य प्रभु साहले पार्टी अध्यक्ष प्रचण्डको हत्याको गर्ने योजना बनाएको भनी रौतहटका केही नेता तथा कार्यकर्ताले लगाएको आरोपमाथि पनि छलफल भएको भट्टराईले बताए ।
यसअघि एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाको सोमबारको बैठकले घोषित २३ गतेसम्मको आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । २१ गते देशव्यापी अन्तरक्रिया र २४ देखि २६ गतेसम्म आमहड्तालको कार्यक्रम भने मोर्चाले यथावत राखेको छ ।











