१४ चैत, भक्तपुर । प्रधानमन्त्री सुुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कोइराला ओलीसँग वार्ता गर्न विहानै ओली निवास वालकोट पुगेका थिए । ओलीसँग वार्ता गरेर निस्कने क्रममा प्रधानमन्त्री कोइरालाले सके सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्ने विषयमा छलफल भएको जानकारी संचारकर्मीलाई दिए । प्रधानमन्त्री कोइरालाले सत्तारुढ दल कांग्रेस र एमाले सहमतिका लागि अधिकतम प्रयासमा रहेको बताए ।
सहमतिका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको समयसीमाभित्रै सहमति होस् भन्ने आफनो चाहना रहेको बताउँदै कोइरालाले आइतबारसम्ममा सहमति जुटने विश्वास व्यक्त गरे । आइतबार दलहरुबीच निर्णायक वार्ता गर्ने र सहमतिमा पुग्ने विषयमा आफूहरुबीच कुराकानी भएको समेत कोइरालाले बताए । भेटमा प्रधानमन्त्री कोइराला र ओलीले एकअर्काको स्वास्थ्यका बारेमा पनि जानकारी लिने काम भएको प्रधानमन्त्री कोइरालाले उल्लेख गरे ।











