१३ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबिच सहमति हुन नसके प्रक्रियाबाटै भए पनि संविधान जारी गर्ने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सहमतिका लागि गम्भीर हुँदा पनि सहमति हुन नसकेको भन्दै संविधानसभाबाटै प्रक्रियालाई अघि बढाएर भए पनि संविधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विपक्षी दलहरुको आग्रह अनुसार नै केही समय संविधान लेखनको प्रक्रिया रोकेको स्पस्ट पार्दै उनले कसैको हठका कारण मुलुक धेरै समय बन्धक बन्न नसक्ने चेतावनी दिए । कांग्रेसले सहमतिका लागि अधिकतम लचकता अपनाएको भन्दै प्रधानमन्त्री कोइरालाले यसलाई कमजोरी नठान्न चेतावनी समेत दिए । यसअघि पनि संविधानसभामा प्रक्रिया अघि बढिसकेको भन्दै संविधान निर्माणमा निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
कार्यक्रममा काग्रेस महामन्त्री कृष्ण सिटौलाले सहमतिका लागि प्रयास जारी रहेको भन्दै छिट्टै सहमति हुने विश्वास व्यक्त गरे । सिटौलाले शुक्रबार नै एमाले अध्यक्ष ओलीसँग गोप्य वार्ता गरेका थिए ।











