१२ चैत, काठमाडौं । मेडिकल माफियाको अन्त्य गर्न माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसी ग्रामिण जनताको स्वास्थ्यको पक्षमा नरहेको उनको क्रियाकलापले देखाएको आरोप मनमोहन मेमोरियल अस्पतालका उपाध्यक्ष तथा सभासद् डा. वंशीधर मिश्रले लगाएका छन् । नेपाल वान टेलिभिजनको कार्यक्रम जनमतमा कुराकानी गर्दै मिश्रले केसीले नेपाली जनताको कर र छात्रवृत्तिमा विदेशमा अध्ययन गरेर आएपछि शर्तअनुरुप दुर्गममा काम नगरेको खुलासा गरे ।
केसी आफू ग्रामिण जनताको स्वास्थ्यको पक्षमा रहेको भन्ने भनाइ नैतिकताहीन भएको तर्क मिश्रले गरे । डाक्टर केसीले जनताको पैसाबाट छात्रवृत्ति कोटामा बंगलादेशमा पढेर पनि गाउँमा जान अटेर गरेको उनले बताए ।
मिश्रले भने, ‘डाक्टर केसी तत्कालीन श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको मेडिकल अफिसर भई वीर अस्पतालमा कार्यरत हुँदा नेपाल सरकारको छात्रवृत्तिमा १९८९ देखि १९९३ सम्म विदेश गएर नेपाली जनताको पैसामा हााडजोर्नी विशेषज्ञ बनेका हुन् । यसरी छात्रवृत्तिमा पढेको व्यक्तिले काठमाडौँ बाहिर गई सेवा गर्नै पर्ने अनिवार्य शर्तलाई डाक्टर केसीले लत्याए । उनले उल्टो सरकारी जागिरबाट दुर्गममा जानुपर्ने भएकाले वीर अस्पतालबाट नै राजिनामा दिएर काठमाडौं बाहिर नजानका लागि उनले महाराजगंज शिक्षण अस्पतालमा नियुक्ति लिएका हुन् । ’
यसरी सरकारी प्रावधानअनुरुप दुर्गममा गएर सेवा नगर्ने डाक्टर केसीलाई दण्डित गर्नैपर्ने जिकिर मिश्रले गरे । केसीको यो काण्डको अख्तियारले छानविन गर्नुपर्ने र छात्रवृत्तिको रकमको सावाँ व्याज र जरिवाना असुल गर्नुपर्ने तर्क डाक्टर मिश्रले गरे ।
छात्रवृत्ति पाएर विदेशमा पढेको व्यक्ति अनिवार्य दुर्गममा बस्नुपर्ने व्यक्ति दुर्गममा नजाने र उल्टो आज दुर्गमको माया गर्ने केसी नैतिकहीन भएको आरोप समेत मिश्रले लगाए । यसबारे केसीले जनतासामु उत्तर दिनुपर्ने माग समेत मिश्रले गरे ।











