११ चैत, काठमाडौं । विदेशी मास्टर कार्ड तथा भिसा क्रेडिट कार्ड प्रयोग गरी गैरकानुनी तरिकाले कार्डहरुको पिन प्रयोग गरी नेपालबाट पैसा झिक्ने विदेशी नागरिक पक्राउ परेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १ करोड २० लाख ८ हजार नगद सहित ४० वर्षीय बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्टोभलाई पक्राउ गरेको छ । विगत केही समय देखि विदेशीहरुको मास्टर तथा भिडा कार्ड समेतको नम्बर तथा पिन नम्बर तथा आवश्यक डाटाहरु चोरी गरी अन्य कार्डहरुमा सो डाटा राखी नेपालको दरबारमार्ग, ठमेललगायतका विभिन्न बैंकहरुको एटिम मेसिनहरुबाट रकम निकाली मनी चेन्जरमा युरो तथा डलरमा सटही गरी रकम विदेश पठाउने गरेको पाइएको केन्द्रिय अनुसन्धान ब्युरोका डिआइजी हेमन्त मल्लले जानकारी दिए ।
हिमालयन बैंकबाट प्राप्त सिसिटीभी फुटेजको आधारमा ब्युरोका अधिकारीहरुले निजलाई हिजो चैत्र १० गते शंकास्पद लागि निजको हुलियाको आधारमा समात्न सफल भएको प्रहरीले जनाएको छ । ब्युरोले बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्टोभ बसेको टेम्पल टाइगर एपार्टमेन्टबाट १७८ थान मास्टर कार्ड, म्यागनेटिक स्ट्रिप कार्ड रिडर र राइटर थान २, ल्यापटप थान १, मोबाईल थाल ३ लगायत नगद अमेरिकन डलर ४० हजार, युरो ५७ हजार २ सय र नेपाली रुँपैया १८ लाख बरामद गरेको छ ।
अभियुक्त सँग सोधपुछ गर्दा अन्य कुनै पनि नेपाली सँग निजको सम्पर्क नभएको, एक पटकमा एउटा मास्टर कार्डबाट १० हजार मात्र रकम निकाल्ने गरेको र निज भरिया मात्र भएको प्रारम्भीक तथ्य बाहिर आएको बताए ।
निजले दिएको बयानअनुसार नेपालमा अनलाइन बैंकिङ्गको सेक्युरिटी निकै फितलो भएको भन्दै यस्तो किसिमको गतिविधि गर्न सजिलो भएको बताएको जानकारी दिनु भयो । निज अभियुक्ती चोथौ पटक नेपाल आएको अध्यागमन विभागको रेकर्डले देखाएको छ ।











