११ चैत, काठमाडौं । मेडिकल माफियाकाविरुद्धमा डा. गोविन्द केसीले गरेको अनशनको सुनुवाइ सरकारले गरेको छैन । आफू सरकारमा नरहँदा डा. गोविन्द केसीका मागहरु जायज भएको र केसीको अनशनबारे सरकार नबोलेको भन्दै आलोचना गर्ने कांग्रेस नेताहरु अहिले सरकारकै बागडोर सम्हालिरहेका छन् । तर यतिवेला उनीहरु स्वयम्ले डा. केसीको अनशनबारे केही बोलेका छैनन् ।
वर्तमान सरकारका अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले केसीको यसअघिको अनशनलाई समथएन गर्दै ट्वीट गरेको कुरा सायद उनले विर्सेको हुनुपर्छ (हेर्नुहोस् – कांग्रेस नेता तथा अर्थमन्त्री महतले गत वर्ष सरकारमा नहुँदा गरेको ट्वीट) । 
नभए त अनशन बसेको तीन दिन भइसक्दा त महतले केही बोल्नुपर्ने हो । उनी नबोलेको देख्दा महत स्वयम् यतिवेला मेडिकल माफयाको पक्षमा रहेको प्रष्ट हुन्छ ।
डा. केसी अनशन बसेको तेस्रो दिन वितिसक्दा पनि सरकारले माग पूरा गर्न चासो नदेखाएको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका विद्यार्थी तथा रेसिडेन्ट चिकित्सकले पठनपाठन ठप्प पारेका छन । विद्यार्थीहरुले बुधबारदेखि पठनपाठनमा सहभागी नभई शिक्षण अस्पताल महाराजगञ्ज अगाडी धर्ना दिएका छन् ।

यसअघि चौथो र तेस्रो पटक अनशन बसेका बेला सरकारसँग भएका सम्झौता पालना गर्न माग गर्दै डा. केसी गएको आइतबारदेखि अनशनमा बसेका छन् । सरकारले यसअघिकै अनशनमा माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि त्यस विपरित चिकित्सा शिक्षा नीति नल्याई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेको भन्दै केसी फेरि ५ औँ पटक अनशनमा बसेका हुन् । माग पूरा नभएसम्म अनसनलाई जारी राख्ने वरिष्ठ डा. गोविन्द केसीले बताउनुभयो । राज्यले केही दिनमै आफ्ना मागहरु सम्बोधन गर्ने उहाँको भनाइ थियो ।
एक दुई दिनमा सरकारले माग पूरा नगरे अस्पतालको सेवामा पनि सहभागी नहुने विद्यार्थीहरुको भनाई छ । सरकारले माग पूरा नगरे अस्पतालसँग जोडिएको कुनै पनि सेवामा सहभागी नहुने नेपाल मेडिकल विद्यार्थी समाजका अध्यक्ष उत्सव तिमिल्सीनाले जानकारी दिनुभयो ।











