१० चैत, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले नयाँ आर्थिक वर्षको सुरुवात असार १ बाट गर्न किन उपयुक्त ठान्यो ? नयाँ आर्थिक वर्ष सुरु हुन तीन महिना मात्र बाँकी रहँदा अर्थ समितिले सोमबार सरकारलाई आर्थिक वर्ष परिवर्तनको प्रस्ताव गर्ने निर्णय गर्यो । साउन १ गतेको साटो असार १ बाट आर्थिक वर्ष सुरु किन गर्नु पर्यो ? आखिर एक महिनाकै कारण यो देशमा विकास हुन नसकेको हो ? वरु आर्थिक वर्षलाई नयाँ वर्ष अर्थात् वैशाख १ बाट सुरु गर्न सुझाव आयोगले दिएको सुझावलाई समेत लत्याएर समितिले किन यस्तो निर्णय गर्यो त ?
अर्थ समितिका सभापति प्रकाश ज्वालाले नेपाल देश डटकमलाई प्रतिक्रिया दिंदै भने आर्थिक वर्षको सुरुवातका लागि सबै भन्दा उपयुक्त समय असार नै भएकोले समितिले यस्तो प्रस्ताव गरेको हो । साउनमा नयाँ आर्थिक वर्ष सुरु हुने र बजेट फ्रिज हुने भएका कारण हतारहतारमा असारमा बजेट सक्न विकासका काम हुने गरेका छन् । असारको वर्षाले ती विकासका काम सबै वगाएर लैजान्छ । वैशाखमा सुरु गर्दा पनि लामा दिन हुने सख्खा मौसमका वैशाख र जेठमा विकासका काम गर्न समस्या हुन्छ ।
प्रकाश ज्वालाको यो भनाइ आर्थिक वर्षको अन्त्यतिर मात्रै विकासका काम बढी हुनेतर्फ लक्षित छ । तर निर्देशिकाअनुसार आर्थिक वर्षको अन्तिम महिनामा बजेटको २० प्रतिशतभन्दा बढी रकम खर्च गर्न पाइँदैन । त्यस्तै अन्तिम तीन महिनामा ४० प्रतिशतभन्दा बढी खर्च गर्न पाइँदैन ।
वर्षको अन्तिमतिर धेरै बजेट खर्च गर्ने प्रवृत्ति बढेको र त्यसलाई रोक्न निर्देशिका जारी गरिएको योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारी बताउँछन् । उनी भन्छन् जवाफदेहिताका लागि अन्य उपाय अपनाउनुपर्छ, वर्षको अन्तिममा मात्रै विकासका काम गरिन्छ भन्ने सोच्नु उपयुक्त हुँदैन । आर्थिक वर्ष सार्नुभन्दा पनि बजेट चाँडै पेश गर्नेतर्फ सोच्नु उपयुक्त हुन्छ ।
नेपालमा बजेटको सुरुवात कहिलेदेखि भयो र साउनबाट नयाँ आर्थिक वर्ष सुरु गर्ने काम कसले गर्यो भन्ने विषयमा अधिकारी भन्छन् २००८ पछि नै बजेट ल्याउने परिपाटी सुरु भएको हो र चाडवाड लगायत काम गर्ने समयको अनुकुलता हेरी साउनमा नयाँ आर्थिक वर्ष सुरु हुने परिपाटी बसालिएको हुनु पर्छ ।











