९ चैत, काठमाडौं । नेकपा एमालेको युवा संघ दुई समुहमा विभाजित भैसकेको अवस्थामा एमालेकै अर्को भ्रातृ संगठनमा समेत विवाद बढेको छ । एमालेको भ्रातृ संगठन प्रेस चौतारीको नेतृत्व र संगठनप्रति नै असन्तुष्टी जनाउँदै सदस्यहरुले साधारण सदस्यबाट समेत राजिनामा दिएका छन् ।
प्रेस चौतारी मोरङका जिल्ला कमिटी सदस्य, नगर कमिटी सदस्य लगायत अन्य विभिन्न पत्रकारहरुले संगठनहरुबाट नै बाहिरिएको भन्दै राजिनामा दिएका छन् । प्रेस चौतारीले संगठनका नाममा माखो पनि नमारेको भन्दै उनीहरुले संगठनकै साधारण सदस्यताबाट राजिनामा दिएका हुन् । उनीहरुले साधारण सदस्यबाट समेत राजिनामा दिनुले केवल मोरङ जिल्लाको नेतृत्वसँग मात्र असन्तुष्टी नभएर समग्र नेतृत्वप्रतिकै असन्तुष्टी भएको स्पष्ट पारेको छ ।
प्रेस चौतारीका तर्फबाट पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुले नै प्रेस चौतारीका सदस्यहरुको घाँटी निमोठ्ने काम गरेको आरोप समेत राजिनामा दिएका पत्रकारहरुले लगाएका छन् । स्मरणीय छ नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष महेन्द्र विष्ट प्रेस चौतारीका सदस्य हुन् ।
प्रेस चौतारीभित्र आर्थिक अपारदर्शिता र नातावाद हावी भएको त्यसको अन्त्य गर्न असम्भव भएकोले आफूहरु संगठनबाट नै अलग भएको राजिनामा दिएका १५ पत्रकारले उल्लेख गरेका छन् ।











