९ चैत, काठमाडौं । छिमेकी देश चीनको भ्रमणमा जान लागेका राष्ट्रपति डा. रामवरण यादवले विपक्षी एमाओवादी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेका छन् । राष्ट्रपति यादव र प्रचण्डबीचको सम्बन्ध त्यति सुमधुर नरहे दुवैले गर्न लागेको चीन भ्रमणका क्रममा राष्ट्रपति यादवले प्रचण्डलाई शितल निवासमै बोलाएर सल्लाह गरे ।
चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा यही चैत १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन लागेका राष्ट्रपतिको भ्रमण राजकीय नभई औपचारिक मात्र हो । तर यो भ्रमणमा यादवले चिनियाँ समकक्षी सी जिन पिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसको तयारीका लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चीन भ्रमणमा गएका थिए । तर मन्त्री पाण्डेले सेरेमोनियल राष्ट्रपति भएकाले जिन पिङले भेट्नुपर्ने जरुरी नभएको भनी राष्ट्रपतिका विरुद्ध कुरा गरेको अडकल राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति यादव पनि पाण्डेलाई त्यसको जवाफ दिन आफूसँग कसैलाई पनि सवारी मन्त्री नलाने निर्णय गरेका छन् ।
तर राष्ट्र प्रमुखको हैसियतले चीन भ्रमण गर्न लाग्दा विभागीय मन्त्री नहुँदा दुई देशका राष्ट्रपतिबीचको भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री पाण्डेलाई सहभागी नगराउने डा. यादवको मनसायप्रति टीकाटिप्पणी सुरु भएको छ । दुई राष्ट्रका प्रमुखहरुको भेटमा अन्य व्यक्तिको सहभागी नहुनुलाई कुटनीतिक तहमा खतरापूर्ण तथा शंकास्पद मानिन्छ ।
परराष्ट्रमन्त्रीको अनुपस्थितिले यादवको भ्रमणलाई सरकारले महत्व नदिएको सन्देश जान सक्ने कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । मन्त्री र राष्ट्रपतिबीचको द्वन्द्वले यस्तो स्थिति आउनु झनै बिडम्बनापूर्ण भएको एक पूर्वपरराष्ट्रमन्त्रीको टिप्पणी छ ।
राष्ट्रपति यादवले मन्त्री पाण्डेप्रतिको रिस पोख्नका लागि प्रचण्डको सहयोग लिने योजना बनाएर सोमबार शितलनिवासमा भेटवार्ता गरेका हुन् । प्रचण्डको चीन सम्बन्ध सुमधुर रहेकोले भ्रमणका लागि राष्ट्रपति यादवले प्रचण्डको सहयोगको अपेक्षा गरेको स्रोतले जनाएको छ ।
दुई व्यक्तिबीच भेटवार्ता भएको केही समयपछि नै प्रचण्ड सोमबार नै चीनतर्फ लागेका छन् ।
केही महिनाअघि काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति यादवलाई भेटेर बोआओ फोरममा आतिथ्यताका लागि निम्तो दिएका थिए ।











