९ चैत, धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिकामा सोमबार राति मातृका यादव नेतृत्वको नेकपा(माओवादी) र एमालेबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । विद्यालय व्यवस्थापन समिति चयनको विषयमा छलफल चली रहँदा एमालेको केपी ओली समूहका वैकल्पिक पोटिलव्युरो सदस्य योगनारायण यादवको नृतृत्वमा गएको करिब ४० जनाको समूहले बैठकमा आक्रमण गरेको स्थानीयबासी रामबली साहले बताएका छन् ।
साहका अनुसार हतियारसहित आएका एमाले कार्यकर्ताहरु विद्यालय परिषरमै ३० वर्षीय रामसेवक राउतमाथि गोली प्रहार गरिएको थियो । मातृका यादव नेतृत्वको माओवादीका कार्यकर्ता रहेका राउतको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको धनुषा प्रहरीको भनाइ रहेको छ ।
राउतको मृत्यु भएपछि राती १२ः१५ मा एमालेका कार्यकर्ता ४२ वर्षीय रामप्रकाश यादवमाथि पाँच राउण्ड गोली प्रहार गरी हत्या भयो । मृतक यादवकी श्रीमतिले प्रहरीलाई खबर गरेअनुसार एमाले नेता योगनारायण यादवका भई र कार्यकर्ताहरुले मृतक यादवलाई घरबाट करिब १२ बजेतिर बोलाएर लगेका थिए । बोलाएर लगिएको केही बेरमै विद्यालय परिषरमा यादवको शब भेटिएको थियो । साँझ मै सुरु भएको झडप त्यस बेला साम्य भईसकेको थियो ।
धनुषाका डिएसपी कृष्ण प्रसाईले दिएको जानकारीअनुसार यादवको शरिरमा पाँच राउण्ड गोली हानेको पाइएको छ । प्रसाईका अनुसार व्यवस्थापन समितिको अध्यक्षको विवादमा गम्भीर घाइते रामसागर साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ भने केही गम्भिर घाइतेहरुलाई काठमाडौं पठाइएको छ ।
एमालेका नेता योगनारायण यादव त्यस क्षेत्रका नामुद गुण्डाका रुपमा परिचित छन् । स्थानीयबासी रामबली साहका अनुसार यादव र तीनका भईहरुले गुन्डागर्दी गरेरै राजनीति गर्दै आएका छन् । केही वर्ष पहिले धनुषामै भएको विद्यालय व्यवस्थापन समितिको चुनावमा गोलि चलेको थियो । जसमा एक जनाको मृत्यु भएको थियो । उक्त गोली काण्डका अभियुक्त एमाले युवा संघका स्थानीय नेता राजु गुप्ता हाल प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका छन् । गुप्ताको संरक्षण योगनारायण र केपी ओलीले गर्दै आएको छ । स्थानीयबासीहरुका अनुसार सोमबार राति भएको गोली काण्डमा गुप्तासहितका एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यता नेकपा (माओवादी)का संयोजक मातृका यादवले घटनाको सत्यतथ्य छानविन हुुनु पर्ने माग गरेका छन् । सबैला नगरपालिकामा मातृका यादवको घर रहेको छ । योगनारायण यादवको घर पनि सबैलामै रहेको छ । योगनारायण उक्त क्षेत्र (धनुषा–६)बाट दुई पटकदेखि चुनाव हार्दै आएका छन् । चुनाव हार्दै आएपनि केपी ओली गुटबाट वैकल्पिक पोलिटव्यूरो सदस्य बनेपछि त्यस क्षेत्रमा उनको प्रभाव बढ्दै गएको छ ।











