४ चैत, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् गठनको तेह्र वर्ष पुगेको छ । परिषद् गठन तेह्र वर्ष पूरा भएर चौध वर्षमा प्रवेश गरेको अवसरमा आज सिंहदरबारमा एक समारोहको आयोजना गरियो । परिषद् चौधौं वर्षमा प्रवेश गरेको अवसरमा रक्षा मन्त्रीको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री सुशील कोइरालाले केक काटेका छन् । वार्षिकोत्सवमा केक काट्दै कोइरालाले परिषद् सरकारलाई राय सुझाव प्रदान गर्न सक्षम हुनुपर्ने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री सुशील कोइरालाले आक्रमण र प्रतिरक्षा मात्र रहने सुरक्षाको परम्परागत अवधारणाबाट अहिले सुरक्षाको अवधारणा र आयाम व्यापक भएको बताउनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को १४औं वार्षिकोत्सवको अवसरमा बुधबार परिषद्को सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष कोइरालाले अहिले विश्वमा सुरक्षालाई देश र जनताको सुरक्षाका बहुआयाम समेटिएको बृहत रणनीतिका रुपमा बुझिने बताए ।
सचिवालयले सुरक्षाका समग्र विषयको अध्ययन र विश्लेषण गरी प्राप्त कार्यादेशबमोजिम राष्ट्रिय सुरक्षा परिषद् र सरकारलाई राय सुझाव प्रदान गर्नुपर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले सचिवालयले आफूलाई सुम्पिएको कार्य सम्पन्न गर्न दक्ष जनशक्ति, उपयुक्त प्रविधि, सूचना र सञ्चारको सञ्जाल तयार गर्न निर्देशन दिए ।
प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सुरक्षाको दीर्घकालीन नीति, रणनीति, कार्ययोजना तय गर्ने सर्वोच्च निकायका रुपमा रहेको परिषद्ले राष्ट्रिय सुरक्षा क्षेत्रको विश्लेषण गर्ने, सूचना प्रवाह गर्ने गरी सरकारलाई राय सुझाव दिने कार्यमा सक्षम हुनुपर्ने धारणा व्यक्त गरे ।











