४ चैत, काठमाडौं / उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई पक्राउ गरिएकोमा एमालेले आपत्ति जनाएको छ । एमाले नेता शंकर पोखरेलले अदालतको निर्णयप्रति नै आपत्ति जनाउँदै ट्वीट गरेका छन् । नेता पोखरेलले ट्वीट गर्दै लेखेका छन्, ‘जेललाई सुधारगृह मानिन्छ । तर नेपालको अदालतले सुध्रिएकोलाई जेल पठाउछ र सुध्रन नमान्नेलाई खुलै छोड्छ ।’
नेता पोखरेलको यो भनाइ सजायँ तोकिएका एमाओवादी नेता वालकृष्ण ढुंगेलप्रति लक्षित भएको बुझिन्छ । वालकृष्ण ढुंगेल लगायतका एमाओवादी नेतालाई पक्राउ नगरी व्यापारीलाई पक्राउ गरिएकोप्रति उनको आपत्ति देखिन्छ ।
अदालतले गरेको निर्णयलाई आपत्ति जनाएमा अदालतले मानहानीको मुद्दा दायर गर्न सक्ने व्यवस्था छ । पोखरेलले भने सिधै अदालतको कार्यप्रति आलोचना गरेका छन् । स्मरणीय छन् पोखरेल पूर्वसंचारमन्त्री समेत हुन् ।











