३ चैत, काठमाडौं । एमाले नेता माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रका विरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रविरुद्ध षडयन्त्र गर्न खोज्दैछन् तर उनको यो प्रयास कुनै हालतमा सफल नहुने वताए । २०६३ सालको जनआन्दोलनका क्रममा ज्ञानेन्द्रसँग कुनै पनि प्रकारको सम्झौता नभएको दाबी गर्दै भने, ‘ज्ञानेन्द्रसँग लिखित र अलिखित केही पनि सम्झौता र समझदारी भएको छैन । छलफलमा त्यतिबेला हामी दुईजना म र गिरिजाप्रसाद थियौं । मैले भनेको पत्यार नलागे पनि गिरिजाप्रसादलाई सोध्न जानुस् ।’
आन्दोलनकारी शक्तिहरु सबै मिलेर परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै भने, ‘सबैले स्वामित्व खोज्नु स्वभाविक हो । सबैको सहमतिमा संविधान ल्याउनुपर्छ। बहुमत छ भनेर हामी पनि मात्तिनु हुँदैन। माओवादीहरु पनि आन्दोलन गरेर कांग्रेस एमालेलाई घुँडा टेकाउँछु भनेर अतिबादी सोच राख्नु हुँदैन ।’
उनले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको बताए। उनले जेठ १५ मा संविधान जारी गर्ने गरी दलहरुबीचको औपचारिक वा अनौपचारिक वार्ता र छलफल अघि बढाउनुपर्ने बताए ।











