अढाइ वर्षपहिले तीव्र आरोपप्रत्यारोपसहित विभाजन भएका दुई माओवादी पार्टी एकताको कसरतमा लागेका छन् । एकीकृत माओवादी संविधान सभाभित्र छ तर नेकपा–माओवादी संविधान सभाको विरोध गरी रहेको छ । त्यसो त दुई पार्टीका कार्यदिशा पनि फरकफरक छन् । फुटको मुख्य कारण सैद्धान्तिक भएको र एमाओवादी नेतृत्व संसदीय भासमा डुबेको आरोप लगाएर अलग भएको नेकपा–माओवादी आखिर कसरी पार्टी एकताका लागि तयार भयो त ? एकता कुन रुपमा हुँदैछ ? नेतृत्वको भागवण्डा कसरी हुँदैछ ? यी सबै प्रश्नको जवाफ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले नेपालदेश डट कमसँगको कुराकानीमा यसरी दिएकी छिन् : 
दुई पार्टीबीच एकता के आधारमा हुँदैछ ?
नेपाली राजनीतिको वस्तुगत स्थितिले परिवर्तनकारी राजनीतिक शक्तिका रुपमा रहेको माओवादी एक हुनुपर्ने आवश्यकता सिर्जना भयो । त्यसैले कार्यदिशालाई आन्तरिक बहसको विषय बनाउने तर सबै माओवादी शक्ति एक भएर टाउको उठाउन थालेको प्रतिगमनका विरुद्ध लड्न हामीहरु एक हुन लागेका हौं । यो एकता शिर उठाउँदै गरेको प्रतिगमनविरुद्धको एकता हो ।
हिजो पार्टी फु्टुनुभन्दा पहिले यो उपाय किन अपनाइएन ?
हिजो पहिलो संविधान सभाबाट जनताको संविधान जारी हुनसक्ने अवस्था थियो । त्यसतर्फ एमाओवादीको नेतृत्वले त्यसको पहल गरेन । जनमुक्ति सेनाको विघटन गरियो, हतियारहरु बुझाएर नेतृत्वले आत्मसमर्पण गर्यो । एक हातमा संविधान र अर्को हातमा जनमुक्ति सेना समायोजनको निर्णय राखेर मात्र काम गर्नुपथ्र्यो । त्यहीँ नेर गल्ती भएपछि अब संविधान बन्दैन भन्ने लाग्यो । त्यस्तै प्रचण्ड नेतृत्वको सरकारले राजिनामा दिएर अर्को गल्ती गरेको ठहर भयो । त्यसपछि विचारको अन्तर बढ्दै जाँदा पार्टी फुट्न पुगेको हो ।
त्यसपछिको सरकारमा जाँदा किरण समूहलाई समावेश नगराएको र पार्टीका निकायहरुमा समेत भागवण्डा नमिलेका कारण तपाईहरु अलग्गिएको भनिन्छ नि ?
वास्तविकता त्यस्तो होइन । संविधानको प्राप्तीविना नै जनमुक्ति सेना विघटन गर्नु नै पार्टी फुट्नुको मुख्य कारण हो । तर अहिले आएर दुवै पार्टीले आफ्ना कमजोरीलाई सच्याउँदै माओवादी आन्दोलनको रक्षा र विकास गर्ने गरी एकता गर्ने योजना बनाएका हुन् । पार्टीका विभिन्न तहका नेता कार्यकताहरुले पनि पार्टी एकता गर्न दवाव दिएकाले पनि दुवै पार्टीले यसले महसुस गर्दै एकतातर्फ अगाडि बढेका हुन् ।
पदीय भागवण्डा कसरी मिलाइँदैछ, आगामी नेतृत्व कसको हुने छ ?
त्यो सबै वार्ता समितिले निर्धारण गर्ने छ । कहिलेसम्म पार्टी एकता हुने, कार्यदिशाका प्रश्नहरु कसरी मिलाउने र नेतृत्व कस्तो हुने भन्ने सबै कुरा वार्ता समितिले निक्र्यौल नगरेसम्म भन्न सकिन्न । राजनीतिक विषय, संगठन र आन्दोलनका विषय सबै सोही कमिटीले निर्धारण गर्ला । सबै कुरा मिलेपछि नेतृत्वमा को हुने भन्ने कुरा पनि मिलिहाल्छ । मुख्य कुरा नेतृत्व यसैको हुनुपर्छ भन्ने हामीहरुको अडान छैन, हामी चाहन्छौं जसरी हुन्छ पार्टी एकता होस् र आन्दोलनको रक्षा होस् ।
तपाईहरुले पार्टी फुटाइसकेपछि आफ्नो पार्टीको औचित्य पुष्टि गर्न नसकेको विश्लेषण गरिन्छ नि ? औचित्य पुष्टि नभई एकता हुने भो ?
हेर्नुहोस् हाम्रो पार्टीले राष्ट्रियता र स्वाभिमानको आन्दोलनलाई नेतृत्व दियो । परायोजित संविधान सभाका विरुद्ध लड्ने राजनीतिक धार खडा भयो । पार्टी फुटेर पनि कहिले काहीँ आन्दोलनको रक्षा हुँदो रहेछ हाम्रो पार्टीले त्यही गर्यो । राजनीतिक दलहरुको सरकार विघटन गरेर खिलराज रेग्मी नेतृत्वको सरकार गठनको विरोधमा हामी थियौं । अहिले आएर प्रचण्ड स्वयम्ले पनि त्यो गल्ती रहेछ भनेर स्वीकार गरी सक्नुभयो । जनमुक्ति सेना विघटन र हतियार बुझाउनु पनि गल्ती भएको सबैले महसुस गरी सके । सर्वपक्षीय सभाबाट संविधान जारी गरौं भन्ने हाम्रै एजेण्डा नै सहमतीय आधारमा संविधान बन्नुपर्छ भन्ने एजेण्डा हो । बहुमतीय प्रणाली खारेज गर्नुपर्छ भन्ने नि हाम्रै एजेण्डा हो । जुन एजेण्डामा यतिवेला एमाओवादीलगायतका तीस दलहरु छन् । त्यसैले हाम्रो एजेण्डा स्थापित भएकैले पार्टी एकता हुन लागेको हो । तर एकता हुन लागेका वेलामा यस्ता कुरा गर्नु पनि उपयुक्त हुँदैन । विगतका गल्तीतिर लाग्दा नराम्रो नहोस् । मेरो विचार स्थापित भयो र तेरो विचार पराजित भयो भन्ने मानसिकताले झन दूरि बढाउँछ । अब दूरि बढाउन कुरा नगरौं ।
दुई पार्टी कहिलेसम्म एक होलान ?
छिट्टै नै एकता हुन्छ । वार्ता कमिटीले जतिसक्दो काम टुङ्ग्याउने गरी कार्य गर्दै छ ।











