२९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाले संविधान निर्माण प्रक्रियाका लागि भइरहेका वार्ता सकारात्मक भएको बताएका छन् । नेपाल शेर्पा विद्यार्थी संघले शुक्रबार राजधानीमा आयोजना गरेको शेर्पा ल्यहोसार साँझ २१४२ को उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणकालागि भइरहेका वार्ता सकारात्मक भएको बताउँदै अबको केहि समयभित्रमा संविधान बन्ने बताए । शुक्रबार एमाले र एमाओवादीबीच भएको वैठक तथा कांग्रेस र मधेशकेन्द्रित दलहरुबीच भएको छलफल सकारात्मक भएको कोइरालाको भनाइ थियो । आगामी संविधानमा सबै जातजाति, भाषा भाषी, जनजाति सबैको अधिकार समावेश हुने बताए । संविधानले सबै जनताको अधिकार सुनिश्चित गर्ने भन्दै आन्दोलनको आवश्यकता नभएको उनको भनाइ थियो । सबै जनतालाई चित्त बुझ्ने गरी संविधान आउने प्रधानमन्त्री कोइरालाले दोहोर्याए ।











