८ पुस, कालिकोट । शुक्रबार कालिकोटमा प्रहरीको गोली लागी एक म्यादी प्रहरीको मृत्यु भएपछि शनिबार त्यहाँको अवस्था झनै तनावग्रस्त भएको छ । शुक्रबार म्यादी प्रहरीले मात्रै प्रदर्शन गरेका थिए पनि शनिबार म्यादी प्रहरीसहित स्थानीयवासिन्दा समेत प्रदर्शनमा उत्रिएका छन् । ज्याला माग्दा ज्यान लिइएको भन्दै स्थानीयवासिन्दासमेत प्रदर्शनमा उत्रिएका हुन् ।
म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्दै भएको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो। घटनाको विरोधमा स्थानीयले प्रदर्शन थालेपछि सदमुकाम तनावग्रस्त बनेको हो।
म्यादी प्रहरी र स्थानीयवासीले शनिवार बिहानैदेखि सदरमुकाम मान्ममा प्रदर्शन गरिरहेका छन्। घटनाको विरोधमा सदरमुकाम मान्म बजार बन्द छ। कर्णाली राजमार्गको कालिकोट सडकखण्डमा यातायात अवरुद्ध भएको छ। स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारवाही गर्नुपर्ने र मृतकलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । म्यादी प्रहरी र स्थानीयवासिन्दाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्ना समेत दिएका छन् ।
म्यादी प्रहरीको आन्दोलनमा स्थानीय बासिन्दालेसमेत साथ दिएका छन्। सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको स्थानीय प्रशासनले जनाएको छ। आन्दोलनकारीले राजमार्गमा टायर बालेर यातायात ठप्प पारेका छन्।
स्थानीय प्रशासनले गोली नभइ ढुंगा लागेर म्यादी प्रशरीको मृत्यु भएको भनेपछि जिल्लाका राजनीतिक दलहरुसमेत आक्रोशित बनेका छन्। जसका कारण दलहरूसँग स्थानीय प्रशासनको वार्चम सफल हुन सकेको छैन। अवस्था सामान्य बनाउन पहल जारी रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए। मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन्।
यसैबीच विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले म्यादीप्रहरीमाथि गोली चलाइएको विषयमा छानविन गर्न माग गरेका छन् । शाहीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था सरकारसँग माग गरेका छन् ।












