८ पुस, काठमाडौं । जंगली हात्तीले बाँके जिल्लाका कुसुम र कोहलपुरका १३२ केभी प्रसारण लाइनमा क्षति पुर्याएपछि मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्लामा विद्युत् प्रसारण अवरुद्ध भएको छ । यी जिल्लामा शुक्रबारदेखि विद्युत आपूर्तिमा समस्या आएको र तत्काल समाधानको प्रयास गरिएको विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाँकेको शमशेरगञ्ज नजिक पर्ने १३२ केभी डबल सर्किट प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्याएको थियो । टावर नं ४८५ क्षतिग्रस्त भएपछि सो संरचनाबाट विद्युत् प्रवाह हुने १३२ केभी सबस्टेशन लालपुर, अत्तरिया, पहलमानपुर, भुरीगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत् प्रवाह गर्न अवरोध भएको हो ।
हाल ती स्थानमा टनकपुर सबस्टेशन भएर भारतबाट आयात हुने विद्युत् मात्र प्रवाह भइरहेकाले ती सबस्टेशनबाट विद्युत् आपूर्ति हुने विभिन्न क्षेत्रमा समस्या पैदा भएको छ । ती स्थानमा हाल करिब १५ मेगावाट विद्युत् अपुग भई केहीबेर विद्युत् कटौती गर्नुपर्ने बाध्यता आएको घिसिङले जानकारी दिए ।
टावरको वास्तविक क्षति पत्ता लगाई नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको प्राधिकरणले जनाएको छ । उक्त ठाउँमा अस्थायी र स्थायी व्यवस्था अविलम्ब मिलाई विद्युत् आपूर्ति नियमित बनाउन प्राधिकरण क्रियाशील भएको घिसिङले बताए ।














