७ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐनकानून र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली काँग्रेससँग आग्रह गरेकी छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँग शुक्रबार भेटवार्ता गर्दै भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।
राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार भएको भेटवार्ताका क्रममा कांग्रेसका शीर्ष नेताहरुसँग भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। छलफलमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत काँग्रेसका शीर्ष नेताहरु सहाभागी थिए ।












