७ पुस, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि आज बैठक बस्दै छ । दुवै दलका शीर्ष नेता सम्मिलित पएमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज शुक्रबार बस्न लागेको हो । बैठक एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने जनाइएको छ ।
पार्टी एकता संयोजन समितिको बैठकपूर्व एमाले स्थायी कमिटीको बैठक बस्ने जानकारी सचिव प्रदीप ज्ञवालीले दिए । स्थायी कमिटी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
सचिव ज्ञवालीले केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताए । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका ती दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो ।












