६ मंसिर, काठमाडौं । कांग्रेस पार्टीको नेतृत्व फेर्नका लागि एकजुट भएका छन् । चुनावमा पार्टी पराजित भएको भन्दै युवा नेताहरु नेतृत्व फेर्नेदेखि पार्टीमा आमूल परिवर्तन गर्ने योजनासहित कसरतमा लागिका हुन् । यही कसरतस्वरुप युवा नेताहले बुधबार राजधानीको एक पार्टी प्यालेसमा भेलाको समेत आयोजना गरेका छन् । युवा नेताहरुको भेलाले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग समेत गरेको छ ।
कांग्रेसका युवानेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरू गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत थिए ।
नेता भण्डारीले पार्टीमा आमूल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरू अघि बढ्ने उद्देश्यसहित छलफल थालिएको बताए । ‘आजबाट कुनै गुटरउपगुटमा नलागी पार्टीको आमूल सुधारका लागि एक हुने अभियान थालेका छौं,’ भण्डारीले कान्तिपुरसँग भने, ‘वामपन्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउने हो भने अहिलेको नेतृत्वमाथि युवाहरूले हस्तक्षेप गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य जोड हो ।’ युवा नेताहरूको बैठकले अहिलेको पुस्ताबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्ष पनि निकालेको छ । युवा नेताहरूले परिवर्तनको चाप पछ्याउन सक्ने नेतृत्व पार्टीलाई आवश्यक रहेको भन्दै पहिलो पुस्तालाई विश्राम दिनुपर्ने बताएका थिए । पार्टीको नीति र नेतृत्वबारे छलफल गर्न पनि विशेष महाधिवेशन बोलाउनुपर्ने निष्कर्षमा उनीहरू पुगेका छन् ।
युवा नेता धनराज गुरुङले विशेष महाधिवेशन माग गर्ने विषयमा आइतबार बस्ने बैठकले तय गर्ने बताए । ‘चुनावमा पार्टी कसरी पराजय भयो भन्नेबारे मात्रै छलफल गरेका छौं, आइतबारको बैठकमा दस्ताबेजसहित नीति, कार्यक्रम र महाधिवेशन बोलाउनेबारे निर्णय लिन्छौं,’ उनले भने । भण्डारीले पार्टीभित्र गुट र उपगुटलाई तिलाञ्जली दिँदै पार्टी सुधारको महाअभियान युवाले सुरु गर्ने बताए । त्यसका लागि नेतृत्व परिवर्तनबाटै सुधार हुनुपर्ने उनीहरूको जोड छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले उम्मेदवार चयन र वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने रणनीतिक कार्यक्रम नहुँदा कांग्रेसले चुनावमा लज्जास्पद हार व्यहोर्नुपरेको निष्कर्ष बैठकमा आएको बताए । बैठकमासबैजसो नेताले नेतृत्वकै कमीकमजोरीका कारण पार्टीले हार व्यहोर्नुपरेको धारणा राखेका थिए ।
‘यो हार वामपन्थी गठबन्धनका कारण मात्रै होइन, शीर्ष नेतृत्वले प्रभावकारी रणनीति नबनाउँदा र टिकट वितरणमा मनपर्दी गर्दाको परिणाम पनि हो,’ पौडेलले भने, ‘कसले जित्छ होइन, कसलाई टिकट दिँदा मेरो गुट बलियो हुन्छ भन्ने आधारमा उम्मेदवार बनाइयो । पार्टी नेतृत्वले कुनै रणनीतिक योजना पनि दिन सकेन ।’ बैठकमा सहभागी रामहरि खतिवडाका अनुसार पार्टी पराजय हुनुमा नेतृत्वमा रहेका सबैको कमजोरी देखिएको ठम्याइसहित यसमा छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरिएको बताए । केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले विशेष महाधिवेशनको माग गर्ने तयारीसमेत गरेका छन् ।













