५ पुस, वीरगंज । वीरगंजको एक ग्यास उद्योगमा वुधबार भीषण आगलागी हुँदा आयो नियन्त्रण गर्न गएको वारुणयन्त्र नै जलेर ध्वस्त भएको छ भने निभाउन गएका २ जना अग्निनियन्त्रक व्यक्तिको अवस्था अज्ञात बनेको छ । वारुणयन्त्रका चालक र अर्का एक व्यक्ति घाइते भएका छन् । विहान करिब ७ बजे भएको आगलागी नियन्त्रणमा लिन सकिएको छैन ।
उद्योगमा ग्यास सिलिण्डर पड्किरहेका कारण आगो निभाउन समस्या भएको हो । वीरगंज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको हो ।
आगो निभाउन गएका २ जना दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते छन् । उनीहरुको उपचार भइरहेको छ । दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले २ जना अग्नीनियन्त्रक सम्पर्कविहिन रहेको पुष्टी गरेका छन् ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली खटिरहेको छ । आगो निभाउन पुगेको एउटा वारुणयन्त्र जलेका कारण अर्को वारुणयन्त्र नजिकसम्म पुग्न नसकेपछि फर्किएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकै जान सक्ने अवस्था छैन र समय समयमा विष्फोट पनि भइरहेको छ ।
हेर्नुहोस् आगलागीको भिडियो :













