नेपालदेश विश्लेषण
४ पुस, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो दल सबैभन्दा ठूलो बनेका कारण प्रधानमन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने भारतको खेल देखेपछि उनको उचालेको खुट्टा चीनतिर लम्किएको छ । पछिल्लो समयमा बनेको परिवेशका कारण ओलीले भारतलाई चुनौति दिनकै लागि चीनसीमाको भ्रमण गर्दै भारतलाई तर्साउने प्रयास गरेका छन् । भनिन्छ मंगलबारको लामटाङ र रसुवा भ्रमणका क्रममा उनले चिनियाँ स्रोतसँग आफ्नो दुखेसो समेत पोखेका छन् । उनी मुड फ्रेस गर्न उत्तरी सीमा गएको उनै निकटहरुले बताइरहेका छन् । उनको मुड फ्रेस चीनसँगको सीमानाका हेरर मात्रै भएको हो या आफ्नो दुखेसो पोखेर पनि मन हलुका भयो त्यो हेर्न भने बाँकी नै छ ।
चिसो अत्यधिक बढेका वेला ओली हिमाली क्षेत्रमा मुड फ्रेस गर्न जानुका दुई कारण हुन सक्छन् । एक त उनीभित्र आगो सल्किई रहेको छ र त्यसलाई चिसो पार्न त्यतातिर गए । अर्को त उनैको उखानटुक्के शैलीमा भन्ने हो भने नाङ्लो ठटाएर हात्ती तर्साएर आफूलाई सुरक्षित गर्ने उद्देश्य । अर्थात् चीन मेरो साथमा छ भनेर भारतलाई तर्साउने रणनीति ।
चिसो मौसममा उनीभित्र गर्मी हुनुको कारण चुनाव जितेको पार्टीको अध्यक्ष भएर पनि प्रधानमन्त्री बन्न नपाउने अवस्था सिर्जना भएकोले हुनसक्छ । हिमालमा पुगेर यो गर्मीलाई शान्त पार्ने र चीनसँगको सीमानाकालाई अन्तर्राष्ट्रिय नाका बनाउँछु भनेर भारतलाई ध्वाँस दिने दुइटै कार्य एकैपल्ट गरेका छन् ओलीले । यहाँ पनि उनकै शैलीमा भन्नुपर्दा एउटा मट्याङ्ग्राले दुई शिकार । अर्थात् एउटा यात्राले दुईतर्फ काम गर्ने ।
उनको चीनसीमाक्षेत्रको भ्रमणलाई चासोका साथ विश्लेषण भैरहेका वेला उनले अर्को वाण प्रहार गर्ने छन्- ‘म कहीँ गएकै छैन, यसो हिमाली भेकका आफ्ना दाजुभाइ दिदीबहिनीको समस्या बुझौं भनेर रसुवा गएको यता त कहाँकहाँ गयो भनेर बबन्डर भएछ । भोलि म तराईतिर जाउँला, अनि त्यहाँ पनि सरकार बनाउने सल्लाह भारतसँग गर्न गयो भन्ने हल्ला चलाइएला । म यो देशको नागरिक, एउटा नेता कहीँ कतै घुम्न जान पनि नपाउने ?’
खैर, यो हावादारी कल्पना हुनसक्ला, साहित्यको भाषामा भन्नुपर्दा स्वैरकल्पना पनि हुनसक्ला । तर, एमाले नेता ओलीको चीनसँगको सीमानाका भ्रमण भने कुनै सामान्य भ्रमण होइन भन्ने कुरा जोकोहीले अनुमान गर्न सक्छ । नेपालमा भारतको चलखेल कसरी भैरहेको छ भन्ने कुरामा ओली बेखबर पनि छैनन् । लामोसमयसम्म नेपाली राजनीतिमा खेल खेलिरहेको भारत उनै ओली प्रधानमन्त्री रहँदाका बखत असफल भएको थियो । भारतले नाकाबन्दी गरेको समयमा चीनसँग पारवहन सम्झौता गर्ने ओलीले रसुवागढी नाकाबाटै पेट्रोल ल्याउने काम गरेका थिए । हिजो नाकाबन्दीका समय यही नाकाबाट पेट्रोल ल्याएको भनेर भारतलाई सम्झाउन र समाचारका माध्यमबाट भारतलाई तर्साउने मनोविज्ञानस्वरुप पनि ओली यहाँ पुगेका हुनसक्छन् ।
अनुमान गरिएजस्तै ओलीले चिनियाँ स्रोतसँग समेत छलफल गरेका हुनसक्छन् । अचानक विहानै चीनसीमातर्फ लागेका ओलीको यो भेटघाट अति गोप्य हुनसक्ने सहज अनुमान गर्न सकिन्छ । नयाँ सरकार गठनमा भारतले कस्तो खेल खेलिरहेको छ र चीनको अबको संकेत के हुनसक्छ भन्ने जानकारी लिनका लागि ओलीले चिनियाँ स्रोतसँग छलफल गरेको विश्वस्त कुटनीतिक स्रोत बताउँछ ।
आगामी मार्गका लागि ओलीलाई चीनले कस्तो संकेत गरेको छ भन्ने कुरा उनका आगामी पाइलाबाट नै थाहा हुने अनुमान गरिएको छ । तर, ओलीले ठटाएको नाङ्लोकै भरमा भारत तर्सने अवस्था भने देखिँदैन ।













