४ पुस, काठमाडौं । समसामयिक विषयमा सरकारले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि सरकारले पहिलोपल्ट आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्रीमार्फत सरकारले आफ्ना धारणा सार्वजनिक गर्न लागेको हो ।
सरकारका धारणा सार्वजनिक गर्न आज दिउँसो २ बजे संचारमन्त्री मोहनबहादुर वस्नेतले संचारमन्त्रालयमा पत्रकार सम्मेलन गर्ने जानकारी सूचना विभागका महानिर्देशक वीरबहादुर राईले नेपालदेशडटकमलाई दिए ।
नेपाली कांग्रेसले सत्ता लम्ब्याउने खेल गरिरहेको आरोप वामगठबन्धनले लगाइरहेको वेला कांग्रेस नेतृत्वको सरकारको धारणा के आउने हो भन्ने जिज्ञासाको विषय बनेको छ । राष्ट्रियसभा गठन नभएसम्म सरकार नछाड्ने अडान सत्तारुढ दल कांग्रेसले लिँदै आएको छ । एमालेले राष्ट्रपतिलाई उक्साएर निर्वाचनसम्बन्धि विधेयक प्रमाणिकरणमा समस्या खडा गरेको आरोप प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले लगाएका छन् ।
देउवाका निकट व्यक्तिका रुपमा रहेका कांग्रेस नेता तथा संचारममन्त्री वस्नेतले यसविषयमा समेत प्रष्ट पार्ने जनाइएको छ । कांग्रेसले तत्काल सत्ता छाड्ने या नछाड्ने लगायतका विषयमा पनि वस्नेतले जानकारी गराउने छन् । कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास गरेको सम्बन्धमा समेत वस्नेतले स्पष्ट पार्ने जनाइएको छ ।












