२ पुस काठमाडौं । निर्वाचनबाट राम्रो नतिजा ल्याएका एमाले र माओवादी केन्द्रले आफ्ना धारणा सार्वजनिक गर्न आज संयुक्त कार्यक्रमको आयोजना गर्दैछन् । राजधानीमा गर्ने कार्यक्रममा एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना धारणाहरु सार्वजनिक गर्न लागेका हुन् ।
दुई दिनसम्म राजनीतिक भेटघाट र परामर्शलाई तीव्रता दिएका ओली र प्रचण्डले सरकार गठन, पार्टी एकतालगायतका विषयमा धारणा प्रस्तुत गर्ने जनाइएको छ ।
संयुक्त पत्रकार सम्मेलनका रुपमा गरिने कार्यक्रममा राष्ट्रिय सभाको निर्वाचन अध्यादेश तथा वर्तमान सरकारप्रतिको आफ्नो धारणा पनि सार्वजनिक गर्ने भएका छन् । कार्यक्रम दिउँसो ३ बजेका लागि निर्धारण गरिएको छ ।












