१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा विजयी कम्युनिस्ट दलहरु मिलेर समाजवादको नयाँ आधार तयार गर्ने घोषणा गरेका छन् । काठमाडौंको शंखपार्कमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले लामो समयदेखि विभाजनबाट गुज्रिएको कम्युनिस्ट आन्दोलनलाई एक गर्दै आफूहरु समाजवादको आधार निर्माण गर्ने बाटोतर्फ लागेको बताए ।
क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार शंखपार्कमा गरेको चियापान समारोहमा बोल्दै प्रचण्डले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि गरिएको गठबन्धनलाई चुनावमार्फत जनताले अनुमोदन गरेकाले कहिल्यै नटुट्ने गरी कम्युनिस्ट पार्टीबीच एकीकरण हुने बताए ।
कम्युनिस्ट दलहरुबीच कार्यगत एकता भएर वामगठबन्धन बनेकोले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको प्रचण्डले उल्लेख गरे ।
निर्वाचनमा वामगठबन्धनले प्राप्त गरेको ऐतिहासिक सफलताले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरी विकासको नयाँ युग तर्फ लैजाने विश्वास उनको थियो ।












