२८ फागुन, भक्तपुर । एमाओवादी नेता अग्नी सापकोटाले सरकार अपराधीको नाइके भएको आरोप लगाएका छन् । अहिले राजनीति विचौलिया, अर्थतन्त्र तस्कर र शान्तिसुरक्षा गुण्डाको नियन्त्रणमा रहेको उनले दावी गरे । रफत सञ्चार क्लव भक्तपुरमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार अपराधको गिरोह बनेर निरीह भइरहेको बताए । उहाँले सक्रमणकाल अपराधीलाई सबैभन्दा उपयुक्त समय बनेको बताए । प्रधानमन्त्रीले आह्वान गरेको वार्ता सही ढंगले अगाडि नबढेको भन्दै सत्तापक्षमा गम्भिरता नदेखिनुले वार्ता अगाडि बढ्न नसकेको उनले दावी गरे । सरकारले कुटे जस्तो र रोए जस्तो गरेर अलमलाउने कार्य गरिरहेको बताउँदै वार्तामा बस्न प्रस्ताव राख्ने तर निर्णायक रुपमा वार्तामा नबस्ने परिपाटीले वार्ताको वातावरण अगाडि बढ्न नसकेको उनको भनाइ छ । कांग्रेसले वार्तामा बोलाउने र एमाले वार्तामा नबस्ने भित्री षडयन्त्र दुई दलले गरे आफूहरुलाई अलमल्याइरहेको आरोप सापकोटाले लगाए । ३० गतेभित्र वार्ता निष्कर्षमा नपुगे थप आन्दोलनका कार्यक्रम घोषण गरेर दोस्रो चरणको आन्दोलन नाकाबन्दी गर्नेसम्मको उहाँले चेतावनी दिए ।











