२८ मंसिर, काठमाडौं । नेपाल प्रहरीप्रमुख हुनका लागि निकै दौडधूप गरेका तर अन्ततः असफल भएपछि एमालेलाई रिझाएर प्रनिनिधिसभा सदस्यका लागि टिकट पाएर पनि चुनाव जितिसकेका पूर्व डिआइजी नवराज सिलवालले अपराध गरेको ठहर सर्वोच्च अदालतले गरेको छ । देशभरका अपराधको छानविन गर्ने जिम्मेवारी सम्हालेका प्रहरीका उच्चअधिकारी रहँदा सिलवाल आफैले भने कीर्ते गरेको भनी कारवाही गर्न सर्वोच्चले आदेश दिएको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडका, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले फैसलाले यस्तो आदेश दिएको हो ।
प्रहरी प्रमुखको दौडमा रहेका सिलवाल प्रहरी प्रमुख हुन नसकेपछि तिनै प्रहरी प्रमुखको सलाम खाने योजनासहित एमालेमार्फत सांसदको टिकट हात पारेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिले जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गरे पनि तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीको प्रभावमा त्यसलाई कार्यान्वयन नगर्न सरकारलाई आदेश दिइएको थियो । त्यसपछि सरकारले अध्ययन गर्दा सिलवालको कागजपत्र नै नक्कली रहेको निष्कर्ष सरकारले निकाल्दै अर्का डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
सिलवालले प्रतिनिधि सभा सदस्यमा निर्वाचन जितेलगत्तै सामाजिक सञ्जालमा यस विषयमा खुबै व्यङ्ग्य लेखिएका थिए । अब एमालेले सिलवाललाई नै गृहमन्त्री बनाउने र प्रहरी प्रमुख अर्यालले सलाम ठोग्ने भन्ने लगायतका टिप्पणी फेसबुकमा बग्रेल्ती छाएका थिए । यही मेसोमा आएको छ सिलवालको मुद्दाको फैसला ।
हिजो प्रतिपक्षमा रहेका एमालेले सिलवालको विषयले च्याँखे थाप्ने काम गरे पनि अब सिलवालकै नाउँमा फेरि कसरत गर्ने त होइन भन्ने संसश आमनागरिकमा देखिएको छ । कांग्रेसलाई विश्वास नगरेर वामगठबन्धनलाई जनताले विजय गराएको यस क्षणमा सिलवालका विषयमा एमाले अध्यक्ष केपी ओलीको टिप्पणी कस्तो आउने हो भन्ने उत्सुकता सबैमा देखिन्छ । त्यति मात्रै होइन हिजोसम्म बालकृष्ण ढुङ्गेललाई जेल नपठाएकोमा विरोध गरिरहने एमालेले अब सिलवाललाई तत्काल कारवाही गर्नुपर्छ भन्ला कि नभन्ला ? ठूलो जिज्ञासाको विषय बनेको छ ।
त्यसो त उखानटुक्कामा ओलीको राम्रै दखल छ । कांग्रेस र माओवादीको संयुक्त सरकारलाई अप्ठेरो पार्न सिलवाललाई काँधमा बोकेका ओलीले अब कस्तो उखान हाल्ने हुन् त्यो पनि जिज्ञासाकै विषय बनेको छ । उखान मात्र होइन उनको मनसाय अब अपराधी सिलवाललाई सजायँ दिने विषयमा होला या चोरलाई चौतारो दिएर सम्मान गर्नुपर्छ भन्ने आउला ?













