२८ मंसिर, विराटनगर ।विराटनगरको विराट मेडिकल कलेजले एमबीबीएसमा नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्डभन्दा बढी संख्यामा विद्यार्थी भर्ना गरेको छ । विराट मेडिकललाई काउन्सिलले ६५ सिटमा मात्रै विद्यार्थी भर्ना गर्नका लागि तोकेको थियो । तर कलेजले १० जना बढी विद्यार्थी भर्ना लिएको पाइएको हो ।
तोकेको मापदण्डभन्दा बढी विद्यार्थी भर्ना गरेका कारण मेडिकल शिक्षा सम्बन्धि अध्ययन गर्न गठित चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले काठमाडौं विश्वविद्यालयसँग स्पष्टिकरण सोधेको छ । विराट कलेजलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएको हो ।
बढी विद्यार्थी भर्ना गरेको उजुरी परेपछि आयोगले तीन दिन अघि काठमाडौं विश्वविद्यालयलाई पत्र पठाएर स्पष्टिकरण सोधेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । स्पष्टिकरणको जवाफ विश्वविद्यालयले पठाइसकेको छैन ।
अध्यक्ष कार्कीले बढी सिटमा भर्ना लिँदा विद्यार्थीको दर्ता प्रक्रियामा नै समस्या पर्ने बताएका छन् ।












