२८ मंसिर, लहान । सिराहाको लहान बजारमा आज शक्तिशाली बम विष्फोट भएको छ । चुनाव सकिएपछि प्रतिरोधको कार्यक्रम नरहेको विप्लव माओवादीले जनाए पनि फेरि बम विष्फोट हुनु रहस्यमय बनेको छ ।
लहान नगरपालिका १ शहीद चोकको व्यस्त बजारमा दिउँसो १ बजे बम विष्फोट भएको हो । भएको विस्फोटमा परी सप्तरीको खडक नगरपालिका २ बस्ने ४६ वर्षीय परमेश्वर चौधरी घाइते भएको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ ।
बमको छर्रा लागेर चौधरीको खुट्टा र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । शहीद चोकमा साइकलको सीट मुनी बोरामा बेरेर राखेको बम विष्फोट भएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा भेटिएकोले विष्फोट पनि सोही मोर्चाले गराएको अनुमान गरिएको छ ।












