२८ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामगठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताएका छन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले आज चितवनमा आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वामगठबन्धन नजाने बताए।
उनले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताए । जनतासामु यही कबुल गरेको पनि उनको भनाइ थियो । “वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो,” उनले भने ।
नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र कानूनी राज्यको पक्षमा दृढतापूर्वक उभिएको र आउने दिनमा अझ राम्रोसँग यी कुरा प्रमाणित हुने अध्यक्ष दाहालले बताए ।
देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डालाई प्रमुखता दिएर नै वामगठबन्धन बनाएको र जनताले त्यसलाई राम्रोसँग अनुमोदन गरेको उनले बताए । नेपाली जनताको आशा र अपेक्षाअनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डोर्याउने अध्यक्ष दाहालको भनाइ थियो ।
“सुशासन, भ्रष्टाचार महारोग भएको छ, यसलाई नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जनताको प्रमुख आकांक्षा हो, त्यो हामीले पूरा गर्छौं” – उनले भने ।
निर्वाचनमा जनताले वाम गठबन्धनप्रति देखाएको समर्थन गठबन्धनका नेताको लागि ठूलो जिम्मेवारी भएको र जनताले सुम्पेको त्यो जिम्मेवारी गम्भीरताका साथ आत्मसात् गर्ने र जनअपेक्षाअनुसार आफूहरुलाई अग्निपरीक्षामा खरो उतार्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले चितवनमा निर्वाचन लड्दा पहिलो पटक निर्वाचन लडेजस्तो महसुस भएको बताए ।












