२५ मंसिर, झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताएका छन् । निर्वाचनमा आफ्नो दल सबैभन्दा ठूला भएको र सरकारको नेतृत्व गर्ने बताउँदै झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएका ओलीले यस्तो आश्वासन दिएका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको जिल्ला कमिटी झापाले आज स्थानीय रंगशालामा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै ओलीले आफूहरु सधैं लोकतन्त्रप्रति प्रतिबद्ध रहने बताए । वामगठबन्धनले निर्वाचन जिते अधिनायकवाद आउने भनी कांग्रेसले लगाएको आरोपप्रति लक्षित गर्दै उनले वामपन्थीहरुले लोकतान्त्रिक अभ्यासमा प्रतिबद्ध रहने बताए ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्युनीकरण गरिने बताए ।
निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार लिङ्देनले आफूले जनताप्रति सधैँ बफादार भएर काम गर्ने बताए ।












