२३ मंसिर, काठमाडौं । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचति भएका छन्। यो परिणमसँगै मधेस अर्थात २ नं प्रदेशबाट पहिलो विजयी उपेन्द्र बनेका छन् । दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्वर २ बाट पहिलो परिणामै यादव विजयी बनेका हुन्।
यादव वाम गठबन्धनबाट उठेका नेकपा माओवादीका उमेश कुमार यादवलाई झण्डै दोब्बर मतले पराजित गरेका छन् । उपेन्द्र यादवले अर्का यादव माओवादीका उमेश यादवलाई १० हजारको मतान्तरले पराजित गरेका छन् ।
उपेन्द्र यादवले २१ हजार ६६० मत ल्याएर जित हासिल गर्दा माओवादीका उमेश कुमारले ११ हजार ५८० मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेदवार जय प्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत प्राप्त गरे।
विजयपछि उपेन्द्रले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधान संशोधन, मधेशी, आदिवासी, दलित जनजाती, अल्पसंख्यक एवम् पछाडि पारिएका समुदायको हक अधिकार सुनिश्चित गर्नुका साथै सप्तरी जिल्लाको विकास र समृद्धिका लागि आफू सशक्त रुपमा अगाडि बढ्ने आश्वासन दिए ।












