२३ मंसिर, काठमाडौं । देशभर कांग्रेस उम्मेदवार पराजित भैरहेको अवस्थामा कांग्रेसका दुई प्रसिद्ध नेता प्रकाशमान सिंह र गगन थापाको जितले कांग्रेस कार्यकर्ताहरुलाई भरोसा दिएको छ । जारी मतगणनामा पनि कांग्रेसको अग्रता एमाले र माओवादी केन्द्रको भन्दा पछाडि रहेको अवस्थामा काठमाडौंबाट दुई नेताको जितले कांग्रेस कार्यकर्ताको निराशामा नयाँ आशा दिएको छ । खासै चर्चामा नरहेका रसुवाका मोहन आचार्यको विजयले प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फ कांग्रेसलाई ३ सिट प्राप्त भएको छ । ३२ स्थानको मतपरिणामको नतिजा आउँदासम्म कांग्रेसले ल्याएका यी तीन स्थानको विजयले कांग्रेसलाई भरोसा दिएको हो ।
हालसम्म विजयी दुई नेता सिंह र थापा केन्द्रीय नेता भएकोले उनीहरु कांग्रेसको नयाँ आशा र भरोसाका पात्र बनेका छन् । महाधिवेशन प्रतिनिध मात्रै रहेका आचार्य कांग्रेसको नेतृत्वमा नरहेका कारण उनतर्फ त्यति ध्यान खिचिएको छैन । यद्यपि उनको यो जितले उनको राजनीतिक जीवनमा नयाँ आयाम भने पक्कै ल्याउने छ ।
काठमाडौंका दुई उम्मेदवार सिंह र थापामध्ये थापाको मतान्तर ३ हजारभन्दा बढी रहेकोले भने कांग्रेसमा थापाको लोकप्रियतालाई स्पष्ट पार्दछ । एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै थापा विजयी भएका छन् । थापाले २१ ह्जार ५ सय ५८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाए ।
अर्का विजयी नेता प्रकाशमान सिंहले रविन्द्र मिश्रलाई ८१८ मतले पराजित गरे । सिंहले १० हजार ९ सय ३६ मत भने विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले १० हजार १ सय १८ मत पाएर पराजित भए । चर्चित उम्मेदवार भनेर बहुप्रचारित मिश्रलाई पराजित गरेर सिंहले कांग्रेसका लागि नयाँ आशा दिएका छन् ।
जनतामा को लोकप्रिय छ भन्ने कुरालाई अब कांग्रेसभित्र कस्तो मूल्याङ्कन हुने हो त्यो भने हेर्न बाँकी छ । होइन भने नेतृत्व हत्याउने र पराजितलाई नै पार्टीभित्र उच्चस्थान दिँदै जाने हो भने कांग्रेसको बाँकी रहेको साख पनि समाप्त हुने विषयमा नेतृत्वले सोच्नु जरुरी छ ।













