२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणअन्तर्गत बिहीबार भएको चुनावमा औसतमा ६७ प्रतिशत मतदान भएको छ । बिहीबारको निर्वाचनमा सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रारम्भिक तथ्यांकअनुसार ६७ प्रतिशत मतदान भएको जानकारी संचारकर्मीहरुलाई दिए । उनले यो प्रतिशत बढ्न सक्ने समेत बताएका छन् । मंसिर १० गते भएको पहिलो चरणमा निर्वाचनमा ६५ औसतमा प्रतिशत मत खसेको थियो ।
विहीबारको निर्वाचन व्यापक जनसहभागिता शान्तिपूर्ण भएको उनले बताए । मतदान सम्पन्न भएपछि सुरक्षित तवरबाट जिल्ला सदरमुकाममा मतपेटिका संकलन गर्ने काम भइरहेको जानकारी उनले दिए । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनको मतगणना आजै ५ बजेबाट सुरु भइसकेको भन्दै यादवले दोस्रो चरणको पनि केही जिल्लामा आज राति र भोलि बिहानसम्ममा मतगणना हुने बताए ।












