२१ मंसिर, काठमाडौं । ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि मतदान भैरहेको छ । आज भैरहेको दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६ सय ६३ जना उम्मेदवारबीच प्रतिस्पर्धाामा छन् । प्रदेशसभातर्फ २ हजार ८ सय १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो हिसाबले आजको निर्वाचनबाट ४ हजार ४ सय ८२ जना प्रतिश्पर्धीमध्ये जनताले ३ सय ८४ प्रतिनिधि चुन्ने छन् ।
आजको मतदानका लागि ७ हजार ७ सय ५२ मतदान स्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाता सहभागी हुँदै छन् ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो ।
प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् ।
प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् ।













