२० मंसिर, काठमाडौं ।(विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य बुधबार दिउँसोदेखि बन्द भएको छ ।
बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने बिहीबार साँझदेखि सुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भोलि दिउँसोसम्म चालु हुने अपेक्षा राखिएको बताए ।
यसैबीच वुधबार साँझ राजधानीका केही स्थानमा अचानक विद्युत आपूर्ति बन्द भएको छ । आधा घण्टासम्म विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारण त्रास फैलिएको थियो । देशभर बमआतंक फैलिएका वेला विजुली नहुँदा बाटोमा हिँड्ने सर्वसाधारण त्रसित देखिन्थे । कतिपयले चुनावको अघिल्लो रातमा सुकुम्बासी टोलमा रकम बाँड्नका लागि मिलेमतोमा विद्युत आपूर्ति अवरुद्ध गराइएको अडकल समेत गरेका थिए ।












