१८ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको नयाँ कार्यालय भवनको आज शिलान्यास गरेकी छिन् ।
बबरमहलमा रहेको सो कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्एपछि सो स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो ।
दश रोपनी १३ आना जमिनमध्ये सात रोपनी जमिनमा अत्याधुनिक साततल्ले भवन बन्नेछ । निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी तीन वर्षभित्र सो भवन निर्माण सम्पन्न गरी सक्ने गरी ठेक्का पाएका छन् ।
जमिनमुनि दुई र जमिनमाथि पाँचतले भवन मूल्य अभिवृद्धि करबाहेक रु ५४ करोड ३२ लाखमा निर्माण सम्पन्न हुनेछ ।
भवन निर्माणको अनुगमन शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ । निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न भएमा लाभांसको व्यवस्था रहेको छ ।
भवन नेपाली मौलिक कलात्मक शैलीमा अपांगमैत्री, भूकम्प प्रतिरोधी तयार हुनेछ महालेखा परीक्षक कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखा परीक्षकको कार्यालयले अझ बढी ध्यान दिएर काम गर्नुपर्ने बताइन् ।
एकातर्फ विकास निर्माण विनियोजित बजेट खर्च नहुने अवस्था आउने र अर्कोतर्फ बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक रहेकोमा उनले जोड दिइन् ।














