२७ फागुन, रौतहट । बालिकाको बलात्कार जस्ता जघन्य अपराधका दोषीलाई कडा कारवाहीको माँग गर्दै रौतहट सदरमुकाम गौरमा आज विद्यार्थीहरुले प्रदर्शन गरेका छन ।
बारामा बलत्कृत ६ वर्षिया बालिकाको मृत्यु पछि दोषिलाई तुरन्त कडा कारवाहीको माँग गर्दै निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरुले विपी चोकमा एक घण्टा विरोध प्रर्दशन गरेका हुन । प्याबसन अन्तर्गत गौरमा रहेका १६ विद्यालयका झण्डै एक सय बालिकाहरुले अपराधीलाई फाँसी दिनु पर्ने माग गर्दै मुखमा कालो पट्टी बाधेर सडकमा विरोध प्रर्दशन गरेका थिए ।
जघन्य अपराधका घटनाहरुमा बलियो कानून निर्माण र कार्यान्वयनका लागी दबाब दिन १३ वर्ष मुनिका सयौ बालिकाहरुले बुधवार दिउसो २ बजे देखी ३ बजे सम्म एक साथ साँकेतिक प्रर्दशन गरेको जिल्ला प्याब्सन रौतहटले जनाएको छ ।
“बालिकाको बलात्कार का घटनाहरु बढी रहेका छन तर समाज र प्रशासन अझै मौन छ । ”
प्रर्दशनमा सहभागी बालिक सविता झा ले भनिन “यस्ता अपराध प्रति समाज र प्रशासन गम्भीर हुनु पर्छ र दोषीले तत्काल कडा सजाय पाउनु पर्छ ।” प्रदर्शन मा सहभागी सबै बालिकाहरुको अनुहार मलिन थियो ।
समाजको लागी विकृती बन्दै गएको यस्ता बलात्कारका घटना प्रति सम्बन्धीत निकाय कडा रुपमा प्रस्तुत हुन पर्ने बालिकाहरुको भनाई छ । बालिका बलात्कार जस्ता कुकृत्य गर्ने अपराधीहरुलाई सरकारले धेरै लामो विधि भन्दा पनि फास्ट ट्रयाक बाट मुद्दा चलाएर हदै सम्मको कडा कारवाही भए मात्र यस्ता अपराध रोक्न सकिन्छ ।
छिमेकी जिल्लामा परेको चोट रौतहटलाई पनि दुखेको बताउदै प्याबसनका सचिव गौतम श्रेष्ठले यस्ता साँकेतिक विरोधका कार्यक्रमलाई पनि सरकारले बुझेर नितिगत रुपमै कडा कानून बनाउनु पर्नेमा जोड दिएका छन ।











