१६ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ ।
खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
विष्फोट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी प्रमुख विपीन कर्माचार्यले खनाल चढेको गाडी हिँडेको बाटोमुनिको कान्लाबाट विष्फोट भएको बताए ।
प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विष्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए । उनकाअनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५/२० मिटर पर भएको थियो । जिल्लामा यस्तो घटना हुन नदिन एक भारतीयसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।












