१४ मंसिर, काठमाडौं । देशभर उम्मेदवारमाथि बम आक्रमण भैरहेका वेला प्रहरीले भने निर्वाचन सुरक्षाका लागि भन्दै घरेलु मदिराप्रति ध्यानकेन्द्रित गरेको छ । चुनावमा सहभागी दलका आमसभा र उम्मेदवारको बाटोमा बम आक्रमण भैरहँदा प्रहरीले भने निर्वाचन सुरक्षाका लागि भन्दै विभिन्न जिल्लामा घरेलु मदिरा नष्ट गर्ने अभियान थालेको हो ।
प्रहरीले विहीबार काठमाडौंको कोटेश्वरका विभिनन स्थानबाट घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ भने चितवनमा पनि यही कार्यलाई तीव्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले गरेको यो अभियानअन्तर्गत आजसम्म कच्चा पदार्थसहित ३४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको जनाएको छ ।
चितवनका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले तयारी मदिरा मात्रै १३ हजार लिटरभन्दा बढी बरामद गरेर नष्ट गरेको जानकारी दिएका छन् ।
यस्तै घरेलु मदिरा बनाउने तयारीमा राखिएको २१ हजार लिटरभन्दा बढी कच्चापदार्थ बरामद गरी नष्ट गरिएको ढकालले बताए ।
निर्वाचन सुरक्षा योजनाको पाँच रणनीतिमध्येको घरेलु मदिरा नियन्त्रण अभियान जिल्लाको बजारसँगै गाउँ क्षेत्रमा समेत सञ्चालन गरिएको उनको भनाइ थियो ।











