१४ मंसिर, काठमाडौं । पञ्चायतकालमा राष्ट्रिय एकता दिवस भनी मनाइने पृथ्वीनारायण शाहको जन्मदिनलाई विशेष पर्व मान्ने गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदले निर्णय गरेको छ । राजतन्त्रकालमा राजाबाट नै अक्षम घोषित देउवाले राजावादीको भोट समेत पाउने ठान्दै गणतन्त्रात्मक संविधानअनुसार प्रधानमन्त्री भएका देउवाले शाहवंशका नेतृत्वकर्ता पृथ्वीनारायणको जन्मदिनमा विदा दिने निर्णय गरेका हुन् । विहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुस २७ का दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पृथ्वीनारायण शाह नेपाल एकीकरणका अभियान्ता हुन् । राजावादी संघसंस्था र दलहरुले पृथ्वीजयन्तीमा विदा दिनुपर्ने माग पहिलेदेखि नै गर्दै आएका थिए । राजावादीको भोटबाट विगतको संविधान सभामा चौथो ठूलो दलको नेता बन्ने अवसर पाएका कमल थापा उपप्रधानमन्त्री रहेको मन्त्रीपरिषद्ले समेत पृथ्वीजयन्तीमा विदा दिने निर्णय गर्न सकेको थिएन । तर, वामगठबन्धनका कारण निर्वाचनपछि कांग्रेस कमजोर हुने देखेर अत्तालिएका देउवाले शितको थोपा जम्मा गरेर घैला भर्ने उद्देश्यसहित यस्तो निर्णय गरेका छन् ।
शितको घैला भर्ने देउवाले अर्को निर्णय समेत गरेका छन् आजसम्म कहिल्यै विदा नदिएको हजरत मोहम्मदको जन्मदिनमा विदा दिने । माओवादीले विगतदेखि उठाएको मुद्दालाई कमजोर पार्ने गरी देउवा सरकारले मोहम्मदको जन्मदिवसमा समेत विदा दिने निर्णय गरेको हो । यसअघि इस्लाम धर्मावलम्बीहरुका लागि ईद र बक्रईदका दिन विदा दिइने गरिएको थियो ।
इस्लाम धर्मावलम्बीको समेत भोट पाउने दाऊमा यस्तो निर्णय गरेका देउवाले अघिल्लो दिन भने विश्वहिन्दू महासंघका पदाधिकारीसँगको भेटमा आफू हिन्दू राष्ट्रको पक्षमा रहेका बताएका थिए ।












