१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथिको बम आक्रमण तथा हिंसात्मक घटना रोक्न कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । देउवाले विहीबार चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर उम्मेदवारमाथिको आक्रमण बढ्दै गएको भन्दै त्यसको सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। सुरक्षा प्रमुखहरुसँगको बैठकमा प्रधानमन्त्री देउवाले चुनावलाई असर पार्ने गरी भएका गतिविधिलाई निस्तेज पार्न कडा कारवाहीका लागि निर्देशन दिए ।
गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले सुरक्षा चुनौति बढ्दै गएकोमा चिन्ता प्रकट गरेका थिए । सुरक्षा निकायले सुरक्षा व्यवस्था मजवुद बनाएको भने पनि विष्फोट र आक्रमणका घटनामा कमी नआएको भन्दै असन्तुष्टि जनाएका थिए ।












