देउवाको मानसिक सन्तुलन खराब भएर अनावश्यक बोल्दै हिँडेको टिप्पणी
१४ मंसिर, चितवन । कम्युनिस्टले जिते बोल्न नपाइने र लेख्न नपाइने अभिव्यक्ति चुनावी सभाहरुमार्फत दिँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवाप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कडा टिप्पणी गरेका छन् । भरतपुर–१५ फुलवारीमा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरे । देउवाप्रति लक्षित गर्दै प्रचण्डले भने एउटै कम्युनिस्ट केन्द्र बनाउने संकल्पसहित जनताका बीचमा आफूहरु आएपछि विरोधीहरुले अनावश्यक कुरा बोल्दै आरोप लगाएको देख्दा उनीहरुको मानसिक सन्तुलन विग्रेको हो कि भनेर बुझ्नुपर्ने अवस्था आएको छ ।
उनले २०१९ यता विभाजित हुँदै आएका कम्युनिस्ट अहिले आएर साझा घोषणापत्र र साझा उम्मेदवार लिएर जनताको बिचमा आउनु एउटा ऐतिहासिक परिघटना भएको अवस्थामा विपक्षीहरुले अनावाश्यक आशंका गरेर आफैलाई रुढीबादी कित्तामा उभ्याएको प्रचण्डले बताए । प्रचण्डले भने- ‘उनीहरु दुई चिज भन्दैछन्– एउटा कम्युनिस्टहरु मिल्दै मिल्दैनन् र अर्को कम्युनिस्ट मिले वर्वादै हुन्छ ।’
प्रचण्डले एउटै कम्युनिस्ट केन्द्र नबनेकै कारण ७० वर्षदेखि कहिल्यै ५ वर्ष चल्ने स्थिर सरकार मुलुकले नपाएको बताए । उनले थपे- ‘अब बाम गठबन्धनले जितेपछि स्थिर सरकार मुलुकले पाउँदैछ । मनमोहन अधिकारीले सुरु गरेका बृद्धभत्ता होस् वा केपी ओली नेतृत्वको सरकारले गरेका राष्ट्रियताका काम हुन् अथवा मेरो नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गर्नेदेखि साढे सात प्रतिशत आर्थिक बृद्धिदर बढाउने काम किन नहुन्, यी काम मुलुकका लागि नयाँ रेकर्ड हुन् ।’
कम्युनिस्टहरुले बहुमत ल्याएर सरकार बने अबको ५ वर्षमा गर्ने कामले ५० वर्ष कम्युनिस्टले सरकार चलाउने अधिकार प्राप्त गर्ने प्रचण्डले बताए । केपी ओली र आफुले पार्टी एकीकरण गर्ने संकल्प गरिसकेको र जनतालाई भनिसकेको भन्दै उनले आफ्ना विरोधीहरु विक्षिप्त मात्र नभई झण्डै मानसिक सन्तुलन नै गुमेको जस्तो गरी बोल्न थालेर तल्लो स्तरमा झरेको बताए ।
देउवाप्रति थप आक्रोसित हुँदै प्रचण्डले भने ‘मैले देउवासँग निहुँ नै खोजेको भए गठबन्धन बनेपछि देउवा सरकार ढाल्न पनि सकिन्थ्यो । मेरो र देउवाबीचको समझदारी अनुसार नै निर्वाचन गर्न दिएको हो,’ शेरबहादुर देउवाले अत्तालिएर भ्रम सिर्जना गर्न खोजेको प्रचण्डको भनाइ थियो ।
आफूले प्रधानमन्त्री पदबाट राजिनामा दिँदा शेरबहादुर देउवाले आफूलाई राजनेता भनेर घोषणा गरेको स्मरण गर्दै प्रचण्डले आफू पनि देउवालाई राजनेता घोषणा गर्न आतुर भए पनि देउवाले हलो तेर्स्याएपछि उनको चरित्र राजनेता घोषणा गर्न लायक नभएको आफुलाई महसुस भएको टिप्पणी गरे ।












