भरत लामिछाने
अधिवक्ता
——————————–
दार्शनिक प्लेटोले एउटा आर्दश राज्यको कल्पना गरेका थिए । म्याग्नेसिया नाम दिएको प्लेटोकोे कल्पनाको आर्दश राज्य र हामी नेपालीले कल्पना गरेको एउटा विकशित र समृद्ध नेपाल सायद उस्तै होला ? यही म्याग्नेसियाको कल्पनामा हामीले २००७ सालमा राणा शासन फाल्यौं, २०४६ सालमा पञ्चायत ढाल्यौं अनि २०६३ सालमा गणतन्त्र घोषणा गर्यांै । राजनीतिक व्यवस्था परिवर्तन भएपछि देश विकास हुन्छ भन्ने मनोविज्ञानका कारण हामी सधैं व्यवस्था परिवर्तनका पछाडि लाग्यांै । छोटो समयमा ठुलाठुला राजनैतिक परिवर्तन हामीले चाहेअनुरुप भए तर हामीले खोजेको भोक, रोग र अशिक्षाबाट मुक्त समृद्ध नेपालको नागरिक हुने चाहना भने पूरा भएन । हामीले खोजेजस्तो राजनीतिक परिवर्तन हुने तर खोजे जस्तो विकास नहुने किन होला ?
विकशित मुलक हेर्ने हो भने विकासको आधार त्यहाँको राजनीतिक व्यवस्थाभन्दा सरकारको भूमिका महत्वपुर्ण देखिन्छ । विश्वमा उत्कृष्ट मानिएको संसदीय व्यवस्था अङ्गिकार गरेको र विश्वमा सवैभन्दा कान्छो संविधान भएको हाम्रो मुलुकमा विकासले गति नलिनु सरकारको अस्थिरता नै हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । विकास र समृद्धिका लागि स्थायी सरकार चाहिन्छ भन्ने कुरा जनस्तरमा मात्र होइन राजनीतिक दलहरुले पनि महसुस गरेका छन । बहुमतको सरकार बनाउने उदघोषका साथ योे पटक हुन गइरहेको आम निर्वाचनमा विभिन्न गठबन्धनको निर्माण गरेर दलहरु चुनावमा होमिएका छन । सरकारको स्थिरताको आवश्यकता बुझेर नै संविधानमै मन्त्रीमण्डलको संख्या तोकिएको छ । सरकारउपर ल्याइने अविश्वासको प्रस्तावका लागि कडाइ गरिएको छ । प्रत्यक्ष निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दललाई समानुपातिकको सिट बाडफाँडमा सहभागी हुनबाट बञ्चित गर्दैै थ्रेसहोल्डको व्यवस्था गर्ने कानून बनेको छन् । विगतमा कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सधैं सरकार बनाउने र ढलाउने दौडमा रुमलिएका कारण विकासका मुद्दा ओझेलमा परको अनुभव हामीसँग प्रशस्तै छ । एकदुई सिटे दलहरुको च्याँखेदाउ र ठुला दलले सत्तामा जानका लागि सांसदको किनवेच, अपहरण र सुरासुन्दरी प्रकरण देशले धेरै व्यहोरेको छ । शक्तिका लागी कुर्चीमा पुग्नै पर्ने र कुर्चीका लागि जे गर्न पनि तयार हुने मनोवृत्तिका कारण देशले कहिल्यै स्थिर सरकारको अनुभव गर्न पाएन । सधै सत्तामा बसेर देशको ढुकुटीमा मोज गर्न पल्केका केही नवमहाराजाहरुका कारण संसदीय व्यवस्था नै खराव हो कि भन्ने आम बुझाइ बनेको छ । तर, ठुला दलमा सवै खराब मान्छे मात्र नेतृत्वमा छैनन, यी दलमा भएका त्यागी निष्ठावान र भिजन भएकालाई छानेर मत दिंदा असल मान्छे सरकारमा पुग्ने र स्थिर सरकार बन्ने अवस्था देखिन्छ ।
सधैं अस्थिरताबाट निराश भएका जनताको सहानुभूति प्राप्त गर्न आफूलाई वैकल्पिक शक्तिको रुपमा परिचय गराउदै केही दलहरुको उपस्थिति यो पटकको निर्वाचनमा देखिएको छ । यो पटक राष्ट्रिय दलमा दरिन सकेमा आगामी निर्वाचनसम्म ठुलो दल हुने सपना बोकेका यी दलका नेताहरुको विगत हेर्दा धेरै आशा गर्ने अवस्था छँदै छैन । आर्कषक परिवर्तनका नारा दिने दलहरु यस अगाडि संसदमा नभएका पनि होइनन् ।
नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधंै सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा गएर केही गर्न सक्दैनन् भन्ने यिनै उदाहरणबाट बुझ्न सकिन्छ । नारायणमान विजुक्छे र चित्रबहादुरको निष्ठाको राजनीति, विकासको भिजन, संघर्ष र त्यागसँग नयाँ दलका कुनै नेताहरुको तुलना हुनै सक्दैन ।
देश विकासको स्पष्ट खाका नभएका केवल विकाउ र आर्कषक नारा लिएर चुनावमा होमिएका यस्ता दलहरुले संसदमा गएर खबरदारी त गर्लान तर समग्र देशको विकासका लागि यिनीहरुको तात्विक भूमिका हुने देखिँदैन । त्यसकारण यो पटक देशको आवश्यकताले मागेको बहुमतको सरकार निर्माण हो । यस्तो परिस्थिति सृजना भएको समयमा मतदाताले बामगठबन्धन छोडेर अन्य विकल्प खोज्नतिर लाग्नु भनेको देशलाई फेरि पाँच बर्ष अस्थिर बनाउनु मात्र हुनेछ ।
advocatebharat3@gmail.com
प्रकाशित मिति :१४ मंसिर, २०७४












