१३ मंसिर, काठमाडौं । दश वर्षसम्म बम पडकाएर र हतियार चलाएर सुरक्षा निकाय र सदरमुकाम आक्रमणको नेतृत्व गरेका माओवादी नेता नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन् ।
प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र (नेत्रविक्रम चन्द समूह) ले अहिले हतियार उठाएको र बम पड्काएको प्रति आक्रोस पोखे । विप्लव माओवादीले गलत समयमा फेरि हतियार उठाएको उनको गुनासो थियो। उनले भने- “हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद र साम्यवादसम्म पुग्न सकिने ठाउँ छ ,”
नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको दावी उनले गरे । “नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,” पुनले भने, “हिजो हामीले गरेको जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न सुरु भएको छ । यो राजनीतिक काम भएन ।”
सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही नगरेको भनी पुनले आक्रोश व्यक्त गरेका थिए ।












