१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बम पड्काइरहेको विप्लव माओवादीलाई कायरको सज्ञा दिएका छन् । नागरिक र उम्मेदवारमाथि बम पड्काउनु कायरतापूर्ण कार्य भएको भन्दै यसो गर्नेलाई कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी विनोद चौधरीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गरेका छन् । चौधरीका परिवारजनमा समवेदना प्रकट गर्दै देउवाले बम पड्काउनेलाई कानुनी दायरामा ल्याउने बताएका हुन् । तर, त्यो कानुनी दायरा राज्यका सुरक्षा अंग परिचालान गरेर गरिने हो या अरु नै तवरबाट भन्ने कुरा देउवाले खुलाएका छैनन् ।
दाङको तुल्सीपुर उपमहानगरपालिका–ं५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको नेपाली काँग्रेसको चुनावी सभालाई लक्ष्य गरी गराइएको बम विस्फोटनमा परी घाइते हुनुभएका २३ वर्षीय म्यादी प्रहरी चौधरीको उपचारका क्रममा आज बाँकेको कोहलपुरमा निधन भएको थियो ।
प्रधानमन्त्री देउवाले संवैधानिक संक्रमणको अन्त्य गर्दै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्ने सिलसिलामा हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षाको लागि खटिई महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सम्पूर्ण सुरक्षाकर्मीलगायत म्यादी प्रहरी प्रशंसाका पात्र भएको उल्लेख गरेका छन् ।
“यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । यस प्रकारका निर्वाचन विरोधी कुनै पनि गतिविधिले निर्वाचनप्रति नेपाली नागरिकले देखाएको उत्साह र नागरिकको मताधिकारलाई कुण्ठित पार्न सक्दैन” विज्ञप्तिमा उल्लेख छ ।
बिना हतियार सुरक्षार्थ उभिएका म्यादी प्रहरी र नागरिकमाथि बम प्रहार गरिनु कार्यरतापूर्ण कार्य भन्दै देउवाले यस घटनालगायत निर्वाचन लक्षित सम्पूर्ण हिंसात्मक क्रियाकलापको घोर भत्र्सना गरेका छन् ।
सरकारले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आम नागरिकलाई निर्वाचनमा निर्धक्क भएर लाग्न हार्दिक आह्वान गरेका छन् ।
आज उदयपुरमा भएको बम विष्फोटमा परी कांग्रेसकै उम्मेदवार गम्भीर घाइते भएका छन् ।












