१३ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताएका छन् ।
संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले अहिले मुलुकमा भएका विकास कार्यलाई तीव्ररुपमा अगाडि बढाएर नेपाललाई सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम शक्तिलाई बहुमत प्रदान गर्न जनतालाई आग्रह गरे ।
वाम गठबन्धन भएपछि अर्को दल नेपाली कांग्रेस अत्तालिएर अधिनायकवादको उदय हुने भ्रम फैलाएको भन्दै नेता नेपालले कांग्रेसको प्रवृत्तिप्रति दुःख व्यक्त गरे । संसदमा बलियो प्रतिपक्षी दलसहित वाम गठबन्धनले सरकार बनाउन चाहेकाले एकतन्त्रीय शासन सम्भव नरहेको उनले स्पष्ट पारे ।
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता नेपालले साँखुका ऐतिहासिक स्थल, शालीनदी, बज्रयोगिनी, मणिचुर पर्वतलगातका स्थानमा पर्यटकीय पूर्वाधार विकास गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताए ।











