२ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न दाङ पुगेको वेला शक्तिशाली बम विष्फोट गराइएको छ । दाङको तुल्सीपुरमा अज्ञात समूहले गराएको विष्फोटमा परी एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित सभालाई सम्वोधन गर्न पुगेको बेला बम विष्फोट गराइएको हो । सभास्थलभन्दा करिब २०० मिटर टाढा बम विष्फोट भएको थियो ।तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो ।
घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एक जना व्यक्तिले सडकमा बम फ्याँकेर भागेपछि विष्फोट भएको घटनास्थलमा रहेका डिएसपी सुदिल शाहीले बताएका छन् । बम फ्याल्ने व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।












